बागमती गाउँपालिकाले सार्वजनिक गर्यो २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको बजेट प्रस्ताव
हेटौंडा । मकवानपुर जिल्लाको पुर्वि क्षेत्र बागमती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सार्वजनिक बजेटमार्फत गाउँपालिकाले क्रसर उद्योगलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले चालु आर्थिक वर्षभन्दा १२ करोड रुपैयाँले बढी बजेट प्रस्ताव पेस गरेका छन् ।
त्यस्तै गाउँपालिकाले ५ करोड ७५ लाख रुपैयाँ क्रसर उद्योग स्थापनाका लागि विनियोजन गरिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा सामाजिक क्षेत्रलाई सबैभन्दा बढी ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका विषयलाई प्राथमिकता दिएको छ । त्यसै गरि पूर्वाधार विकासमा १७ करोड , प्रशासनिक खर्चमा १२ करोड २६ लाख, वातावरण तथा विपत् व्यवस्थापनमा १ करोड १६ लाख , आर्थिक विकासमा ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासमा ४ करोड ५४ लाख विनियोजन गरिएको छ ।
आन्तरिक स्रोतबाट ९ करोड ८ लाख रुपैयाँ संकलन गरिने लक्ष्य रहेको छ, भने राजस्व बाँडफाँट, संघीय तथा प्रदेश सरकारबाट पनि संकलन गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले असार २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।










