चितवन दुर्घटना : ७ को ज्यान गयो, २४ घाईतेहरु उपचाररत
काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ स्थित डडुवा मोडमा शनिबार दिउँसो भएको यात्रुवाहक बस र इभी माइक्रोबसको टक्करमा मृत्यु हुने सातैजनाको पहिचान खुलेको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् भने अधिकांशको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्।
मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको इभी गाडी (बागमती प्रदेश )३–००१ज २९९० र काँकडभिट्टातर्फ जाँदै गरेको बस ९प्रदेश १–०१–००१ ख ३५८३० बीच ठक्कर हुँदा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा मकवानपुर हटिया–३ घर भएका ५५ बर्षका सोमप्रसाद रुपाखेती , हेटौंडा–५ घर भएका ५३ बर्षका या कुमारी न्यौपाने पहाडी रहेका छन् । त्यसै गरि ५ जनाको भने हाल नामथर वतन खुलेको छैन् । हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला , अन्दाजी २४/२५ वर्षीया महिला ,हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष , नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला , नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष रहेको प्रहरीले जनाएको छ ।
शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीका अनुसार अधिकांश मृतक र घाइतेहरू इभी माइक्रोबसमा सवार थिए। घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाईतेहरु कञ्चनपुर, कैलाली, झापा, मोरङ, सप्तरी, रौतहटलगायत क्षेत्र आएका थिए ।
चितवन प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। उनले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात सञ्चालनमा आइसकेको छ।











