चितवनमा इभी माइक्रोबस र यात्रुवाहक बस ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

संवाददाता
२०८२ असार ७, शनिबार १३:१७

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा इभी माइक्रोबस र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ,भने १८ जना घाइते भएका छन्।

दुर्घटना शनिबार बिहान भएको हो। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमध्ये हालसम्म दुई जनाको मात्रै पहिचान खुलेको छ। मृतकमध्ये मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। बाँकी मृतकको सनाखत हुन बाँकी छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा मृत्यु र घाइते हुनेमध्ये अधिकांश इभी माइक्रोबसका यात्रु रहेको जानकारी दिएको छ।

प्रहरीका अनुसार तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।

दुर्घटनापछि केही समय राजमार्ग अवरुद्ध भए पनि अहिले सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*