प्रदेश प्रमुखद्वारा योग दिवसको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै स्वस्थ जीवनका लागि योगलाई जीवनशैलीमा आत्मसात गर्न आग्रह गर्नुभएको छ। योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिलोस् भन्ने कामनासहित उहाँले यो सन्देश जारी गर्नुभएको हो।
प्रदेश प्रमुख देवकोटाले योगलाई नेपालको गौरवपूर्ण सभ्यता र सनातन परम्पराले दिएको अनुपम उपहारको रूपमा चित्रण गर्नुभएको छ । उहाँले योग आज विश्वभर स्वीकारिएको जीवनपद्धति बनेको र हरेक वर्ष जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइनु यसैको सम्मान भएको सन्देश मार्फत बताउनुभयो।
उहाँको सन्देशमा भनिएको छ, “पूर्वीय सभ्यताले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योगाभ्यासलाई आत्मसात गर्यो।
आज त्यसको चमत्कारिक प्रभावलाई पश्चिमी जगत् लगायत समग्र विश्वले अवलम्बन गरेका छन्।”
योगलाई केवल व्यायाम नभई एक समग्र जीवनदर्शनका रूपमा व्याख्या गर्दै, प्रदेश प्रमुख देवकोटाले योगले आत्मानुशासन र सह अस्तित्वको बाटो सिकाउनेमा जोड दिनुभयो।
आजको व्यस्त जीवनशैलीमा मानिस तनाव, चिन्ता र रोगहरूले ग्रस्त भइरहेको अवस्थामा योग नै शान्त, निरोगी र सुदृढ बनाउने अमूल्य साधन भएको उहाँको भनाइ छ।
यस महत्वपूर्ण दिनमा प्रदेश प्रमुख देवकोटाले सम्पूर्णलाई दैनिक केही समय योगाभ्यासमा समर्पित हुन आह्वान गर्दै, अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभएको छ।










