थाहा नगरपालिका–१ मा खुकुरी प्रहार गरी महिलाको हत्या, अभियुक्त खुकुरीसहित पक्राउ

संवाददाता
२०८२ असार ५, बिहीबार १८:३५

हेटौंडा । मकवानपुरकाे थाहा नगरपालिका–१ कुन्छालमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ। घटनामा छिमेकी तथा देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले ५० वर्षीया तुलमाया गोपालीलाई खुकुरी प्रहार गरी हत्या गरेकाे  प्रहरीले जनाएको छ ।

आज दिउँसो करिब २ः२० बजे भएको घटनामा खुकुरी प्रहारबाट तुलमायाको टाउको र शरीर छुट्टिएको अवस्थामा घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ। घटनापछि आरोपी गोपाली फरार भएका थिए। उक्त सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बज्रबाराहीका प्रहरी निरीक्षक सन्तु कुमार लामाको टोली र इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरेकाे थियो।

अनुसन्धानका क्रममा सोही दिन ३ः३५ बजे आरोपी गोपालीलाई थाहा नगरपालिका–३ स्थित थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको छ।

मृतक तुलमाया गोपालीको शव प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं पठाइएको छ।  घटनाकाे विस्तृत जानकारी  आउन बाँकी भएकोले थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*