हाइकिङ र धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर
हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय हाइकिङ र धार्मिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ।
काठमाडौँ उपत्यकाको कोलाहल र प्रदूषणबाट टाढा शान्त, हरियाली वातावरणमा अवस्थित यो स्थलले प्रकृति र आस्थाको संगम अनुभूत गराउने विशेषता बोकेको छ। सामाजिक सञ्जालमार्फत चर्चा बटुलिरहेको लटारम्मेश्वर क्षेत्र डब्लु डाँडा नामले पनि चिनिन्छ। यहाँबाट देखिने हिमशृङ्खला, बादलको खेल र गुराँसले भरिएको वनजंगलले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। समुद्री सतहबाट १,८५६ मिटरको उचाइमा अवस्थित मन्दिरसम्म पुग्न बकैया गाउँपालिकाको ठिंगनबाट महादेवटार हुँदै चिलाउने लेक पार गर्नुपर्छ। भीमफेदी गाउँपालिकाले पदमार्गमा सिँढी, प्रतीक्षालय, पानीका धाराजस्ता पूर्वाधार निर्माण गरेकाले यात्रालाई सहज बनाएको छ।
पौराणिक मान्यताअनुसार, सतीदेवीको जटा पतन भएको स्थानका रूपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ। माघे सङ्क्रान्ति र वैशाख १ गते यहाँ विशेष मेला लाग्ने गर्छ, जसमा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट सयौँ श्रद्धालुहरू आउने गरेका छन्।
भीमफेदी गाउँपालिका र बागमती प्रदेश सरकारको सहयोगमा लटारम्मेश्वर क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजना नै तयार गरिएको छ। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नति लगायतका पूर्वाधार विस्तारको कार्य तीव्र गतिमा अघि बढिरहेको पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी बताउँछन्।
स्थानीयवासीका अनुसार पछिल्लो समय लटारम्मेश्वर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको छ। त्यसको सकारात्मक प्रभाव स्थानीयहरुमा परिरहेको छ ।
एक–डेढ घण्टाको उकालो पदयात्रा भए पनि मन्दिर परिसरमा पुगेपछि त्यहाँको शान्त वातावरण, मनोरम दृश्य र रमणीय भू–आकृतिले यात्राको सम्पूर्ण थकान भुलाउने पर्यटकहरू बताउँछन्।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र साहसिक यात्राको अद्भुत संयोजन प्रदान गर्ने लटारम्मेश्वर महादेव मन्दिर आजभोलि पर्यटकका लागि केवल गन्तव्य मात्र नभई एक अविस्मरणीय अनुभवको केन्द्र बन्दै गएको छ।











