हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात समूहद्वारा भएको सांघातिक आक्रमणप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आज दिउँसो ३स्४० बजे कार्यालयको नियमित काममा रहेका न्यौपानेमाथि उनी बसेकै कोठामा पसी कुटपिट गर्दै लुटपाटसमेत गरिएको जनाइएको छ। घटनामा दुई थान मोबाइलसमेत लुटिएको उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आक्रमणको घोर भर्त्सना गरेको छ। जारी विज्ञप्तीमा स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारबाट दिइएका कानुनी अधिकार र जिम्मेवारी भित्र रहेर काम गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमणले लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रहार भएको उल्लेख छ।
वडा अध्यक्ष न्यौपाने सार्वजनिक सम्पत्ति संरक्षण गर्ने क्रममा प्रचलित कानून अनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेला भएको यस प्रकारको आक्रमणले कर्मचारी र जनप्रतिनिधिमा भय सिर्जना गराउने तथा काम गर्ने वातावरण नै खल्बल्याउने खतरा भएको उपमहानगरले जनाएको छ।
उपमहानगरपालिकाले आक्रमणमा संलग्न अपराधी समूहलाई तत्काल पहिचान गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेको छ। साथै, संलग्न पक्षहरूलाई पनि पहिचान गरी कानून अनुसार कारबाही गर्ने उल्लेख्य गरिएको छ।
वडा अध्यक्ष न्यौपानेको स्वास्थ्य अवस्थाबारे भने थप विवरण आउन बाँकी रहेको जनाएको छ।










