सातवटै प्रदेशको बजेट पेस : बागमती सबैभन्दा ठूलो बजेटसहित अगाडि
हेटौंडा । नेपाल सरकार तथा सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना बजेट प्रस्तावहरू सार्वजनिक गरेका छन्। केन्द्रीय सरकारले बजेट प्रस्तुत गर्दै कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०८२ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। सघिय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरे पछि सातै वटा प्रदेशले आ -आफ्नो अनुमानित बजेट प्रदेशसभामा पेस गरेका छन् ।
प्रदेशहरूको बजेट हेर्दा सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेटले बागमतीलाई आर्थिक भारका हिसाबले अगाडि राखेको छ।
त्यसको विपरीत गण्डकी प्रदेशले जम्मा ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएर सबै प्रदेशहरूमध्ये सानो आकारको बजेट प्रस्तुत गरेको छ। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै क्षेत्रीय सन्तुलन र स्रोत परिचालनमा संयमता अपनाइएको बताएका छन्।
लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमध्ये ६०.३२ प्रतिशत अर्थात् २३ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । त्यस्तै कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । मधेस प्रदेशका आगामी आर्थिक वर्षका लागि कूल रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि रू ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ ।











