बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड बजेट
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुण्दनराज काफ्लेले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धि र किसान सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै साना किसानहरूलाई स्थानीय उत्पादनसँग जोडेर तालिम, प्रविधि र बजार पहुँचको सुविधा उपलब्ध गराउने कार्यक्रमहरू ल्याइएको उल्लेख गरिएको छ। यसका लागि मात्र २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसै गरिबजेटमा कृषिको यान्त्रीकरण, सिंचाइ सुविधा, विपणन संरचना निर्माण, र कृषि अनुदान कार्यक्रमहरूलाई विस्तार गरिने उल्लेख गरिएको छ। प्रदेश सरकारले नविन सोच भएका युवाहरू र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई आधुनिक कृषिमा आकर्षित गर्ने उद्देश्यसहित विशेष कार्यक्रम घोषणा गरेको छ। बजेटमार्फत आधुनिक कृषि प्रणाली, सहुलियतपूर्ण प्रवाह, र नवप्रवर्तनशील सोचलाई प्राथमिकता दिइएको छ। प्रविधियुक्त कृषि प्रणालीमा युवा पुस्ताको संलग्नता आवश्यक रहेको भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्न यस्तो कार्यक्रम ल्याइएको उल्लेख गरिएको छ ।
प्रदेश सरकारले बागमतीमा रहेको अव्यवस्थित धुलो दूध कारखानालाई पुनः सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। यसले दूध उत्पादनमा आत्मनिर्भरता कायम गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको बजेट दस्तावेजमा उल्लेख गरेको छ। त्यस्तै, केरा खेतीमा कृषकको आकर्षण बढाउन सरकारले नयाँ योजना अघि सारेको छ। किसानले भाडामा लिएको जमिनमा केरा खेती गरेमा प्रतिहेक्टर २० हजार रुपैयाँसम्मको भाडा अनुदान सरकारले दिने घोषणा गरिएको छ।











