नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट नियमित विद्युत् निर्यात प्रारम्भ
काठमाडौं । नेपालले आजबाट बंगलादेशतर्फ नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले शनिबार रातिदेखि विद्युत् प्रवाह सुरु भएको पुष्टि गर्दै यस दिनलाई “ऐतिहासिक उपलब्धि” को रूपमा घोषणा गरेका छन्।
यो कदम केवल ऊर्जा व्यापारको विकास मात्र नभई, नेपालले भारतमार्फत तेस्रो मुलुकसँग व्यापार गर्न सक्ने क्षेत्रीय सहकार्यको सफल अभ्यासको रूपमा पनि लिइएको छ। अघिल्लो वर्ष नेपालले बंगलादेशलाई परीक्षणस्वरूप एक दिनका लागि विद्युत् आपूर्ति गरेको थियो। तर अब भने पहिलोपटक दीर्घकालीन र नियमित रुपमा तेस्रो मुलुकमा विद्युत् आपूर्ति हुन थालेको हो।
नेपालबाट भारतको ग्रिड प्रयोग गरेर बंगलादेशमा विजुली आपूर्ति हुनु भारत-नेपाल-बंगलादेश त्रिपक्षीय सहकार्यले भविष्यमै थप आर्थिक एकीकरण र ऊर्जा व्यापारले सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्री खड्काका अनुसार, नेपालले भारतीय राज्य बिहारलाई पनि ८० मेगावाट विद्युत् निर्यात गर्न थालेको छ। यसले भारतसँगको व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने र विद्युत् निर्यातबाट मुलुकको आम्दानी स्रोतलाई विविधिकरण गर्ने सम्भावना देखिएको बताएका छन् ।
नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाटभन्दा बढी अनुमान गरिएको छ, तर हाल उत्पादन भने करिब २,७०० मेगावाटमा सीमित छ। यद्यपि, पछिल्लो समय निर्माणाधीन आयोजना सम्पन्न हुँदै जाँदा निर्यातयोग्य विद्युत् मात्रा बढ्दै गएको छ।










