हेटौडामा ब्रेक फेल भएको बसले कार र ट्याङ्कर ठक्करलाई दिँदा १० जना घाइते

संवाददाता
२०८२ जेष्ठ ३२, शनिबार १७:१३

हेटौंडा हेटौंडा उपमहानगरपालिका–१५ डाइभरडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। बसको ब्रेक फेल भएपछि कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्।

बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको कार र सोही दिशातर्फ गइरहेको ट्याङ्कर ९ना ८ ख ४४०० लाई ठक्कर दिएको थियो। बसको ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त दुर्घटनामा परेको कारको भने नम्बर खुल्न बाँकी रहेको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी कुल १० जनाको उद्दार गरी हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। तीमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार बस भने घटनास्थलभन्दा करिब १०० मिटर अघि एक रुखमा ठोक्किएर रोकेको थियो। ट्याङ्करको पछाडिको भागमा सामान्य क्षति भएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*