‘जेन–जी’ को आवाज: पुराना नेताहरूमाथि नयाँ पुस्ताको अविश्वास, बालेन शाह सबैभन्दा लोकप्रिय
काठमाडौं । नेपालमा सामाजिक र राजनीतिक चेतनाको दिशामा ठूलो परिवर्तन देखिएको छ । १३ देखि २८ वर्ष उमेर समूहका युवाहरु – जसलाई ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ – उनीहरूको नेतृत्व रोजाइमा परम्परागत दलका नेताहरू पछाडि परेका छन्, जबकि स्वतन्त्र धारका नेताहरूको लोकप्रियता आकाशिएको छ ।
सातै प्रदेशका एक हजार १९ जना जेन–जी युवाहरुकाे राेजाईमा काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) सबैभन्दा मनपर्ने नेता घोषित भएका छन् । कुल ७४.१८ प्रतिशत जेन–जी युवाले बालेनलाई आफ्नो मनपर्ने नेताका रूपमा रोजेका हुन् ।
उक्त सर्वेक्षणकाे अनुसार नेपालको राजनीति प्रति नयाँ पुस्ताको अपेक्षा र चाहनालाई स्पष्ट रुपमा उल्लेख गरेकाे पाईन्छ ।
युवाको रोजाइ: स्वतन्त्र, प्रष्ट विचार र कार्यमा देखिने नेता
बालेन शाहको लोकप्रियतापछि दोस्रो स्थानमा आएका रवि लामिछानेलाई ३५.७५ प्रतिशत युवाले मन पराएका छन् । हर्क साम्पाङको पक्षमा पनि ३१.६७ प्रतिशत उल्लेख्य समर्थन देखिएको छ । यी तीनै जना नेताहरूले पारंपरिक पार्टी संरचनाबाहिर रहेर काम गरेका छन् । जसले युवामाझ उनीहरूको विश्वसनीयता बढाएको देखिन्छ । त्यसै गरि सर्वेक्षणमा गोपाल हमाल जस्ता स्थानीय तहका नेताकाे पनि उल्लेखनीय उपस्थिति देखिनु राजनीतिक ‘ग्रासरुट’ स्तरमा चेतनाको विकास भएको पाइन्छ ।
परम्परागत नेताहरूको लोकप्रियता खस्किँदै
यसैबीच, दशकौंसम्म नेपालको राजनीति तय गरेका नेताहरू – केपी शर्मा ओली (१४.४४%), पुष्पकमल दाहाल ‘प्रचण्ड’ (८.०१%), र शेरबहादुर देउवा (५.९७%) – ले भने जेन–जी पुस्ताबाट तुलनात्मक रूपमा न्यून समर्थन पाएका छन् ।
जेन–जी पुस्ता अब देशको नेतृत्वमा प्रष्ट दृष्टिकोण, नवीन सोच, र पारदर्शिता खाेजि रहेका छन् । उनीहरू फेसबुक पोस्ट भन्दा पनि फिल्डमा काम देखाउने नेताप्रति आकर्षित भएका छन् ।











