बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियाे
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार बैशाख महिनामा मात्र विदेशबाट १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । उक्त रेमिट्यान्स हालसम्मकै उच्च मासिक आप्रवाह हो।
गत वर्षको यही महिनासम्म जम्मा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियाे,भने यो वर्ष झण्डै ५० अर्ब रुपैयाँले बढी रकम भित्रिएको छ।
रेमिट्यान्स वृद्धिसँगै शोधनान्तर स्थिति (Balance of Payments) पनि सुदृढ बनेको देखिन्छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा शोधनान्तर ४ खर्ब ३८ अर्ब रुपैयाँले बचतमा रहन सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ थियो।
यससँगै, सरकारको खातामा समेत पर्याप्त नगद मौज्दात देखिएको छ। राष्ट्र बैंकले दिएको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको नगद मौज्दात छ।











