कान्तिलोकपथ सडक चार दिन बन्द, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । मकवानपुरको बगुवा क्षेत्रमा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको कामलाई प्राथमिकता दिँदै प्रशासनले कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिनका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ गतेसम्म कान्तिलोकपथमार्फत हुने सवारी आवागमन स्थगित गरिने जनाएको हो। बगुवास्थित बागमती खोलामा बनिरहेको बेलिब्रिजको जडान कार्य सम्पन्न गर्नका लागि यो निर्णय लिइएको बताइएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। विशेषगरी काठमाडौं जाने र आउने सवारी साधनका लागि कुलेखानी-कलंकी-हुमाने मार्ग वा कुलेखानी-सिस्नेरी-फर्पिङ मार्ग प्रयोग गर्न सकिने बताइएको छ।










