गणतन्त्रको मूल्यमा प्रधानमन्त्री ओलीको जोड: ‘जनताको मत सर्वोपरि’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा नागरिक स्वतन्त्रता र जनताको निर्णयको अधिकारलाई लोकतन्त्रको मेरुदण्डका रूपमा चित्रण गरेका छन्। टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धि र यसको निरन्तरताका लागि जनचेतना र जिम्मेवारीपूर्ण संलग्नताको आवश्यकता औंल्याएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपना अब कुनै वंश, पद वा विशेषाधिकारको टेबुलमुनि राख्न सकिँदैन।” उनका अनुसार, वर्तमान समाज शाही इशाराभन्दा जनताको मतमा हुर्केको छ र त्यसको अवमूल्यन गर्नु इतिहासप्रतिको अपमान हो।
उनले लोकतन्त्रको एक प्रमुख विशेषता पारदर्शिता र जवाफदेहितामा रहेको उल्लेख गर्दै, “जनतामैत्री सार्वजनिक सूचना प्रणाली आजको सबैभन्दा ठूलो शक्ति हो। यसले निरंकुश समयका अपराध र भ्रष्टाचारमाथि जनताकै निगरानी सम्भव बनाएको छ,” भने।
ओलीले सूचनाको पहुँच र सार्वजनिक निगरानीमाथि आस्था व्यक्त गर्दै यसैको दुरुपयोग गरेर केही शक्ति केन्द्रहरूले इतिहासको कुरूप पक्षलाई पुनः उज्यालो बनाउने प्रयास गरेको भन्दै सचेत रहन आग्रह गरे।
“अँध्यारो कालमा लुकेका दोषहरूलाई आज सफा देखाउने प्रयास हुँदैछ,” उनले भने, “तर इतिहासलाई ढाक्न खोज्नेहरूलाई गणतन्त्रको जनशक्ति छेक लगाउनेछ।”










