आज १८औँ गणतन्त्र दिवस मनाइँदै
काठमाडौं । आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस केवल राजनीतिक प्रणालीको परिवर्तनको सम्झना मात्र नभई, हजारौँ जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त सार्वभौमसत्ता जनतामा प्रत्यायोजन भएको ऐतिहासिक उपलब्धिको उत्सव रुपमा मनाईदै छ।
२०६२/६३ को जनआन्दोलनले राज्यशक्तिको मूल स्रोत जनतालाई बनाउने गम्भीर आधार तयार गर्यो। निरंकुश एकात्मक राजतन्त्रविरुद्ध उठेको आन्दोलन न केवल राजनीतिक नेतृत्वद्वारा निर्देशित थियो, यो आन्दोलन जनताको चाहनाबाट सञ्चालित ऐतिहासिक जनजागरण थियो। यसैको फलस्वरूप २०६५ सालको जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपालको २४० वर्ष लामो राजसंस्थाको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यो।
गणतन्त्र स्थापनापछि नेपालको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न संविधान निर्माण, तीन तहको सरकार सञ्चालन र समावेशी व्यवस्थाका संरचना निर्माण गरियो। २०७२ असोज ३ गते जारी संविधानले यिनै उपलब्धिहरूलाई कानुनी स्वरूपमा स्थापित गर्यो।
त्यसै गरि राष्ट्रपति राम चन्द्र पाैडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र शाहि दमन चिरेर जनताले आफ्नो बलिदानबाट प्राप्त उपलब्धि भएको प्रधानमन्त्री ओलिले बताएका छन् ।
दवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी उच्च पदस्थ व्यक्तिहरुको सहभागिता हुनेछ ।











