वृद्ध भत्ता पाउने उमेरहद बढ्याे ,विशेष वर्गलाई भने पुरानै व्यवस्था
काठमाडौं । सरकारले वृद्धभत्ता सम्बन्धी नीतिमा चालू आर्थिक वर्षको बजेटमार्फत अब ७० वर्ष उमेर पुगेका नागरिकले मात्र वृद्धभत्ता पाउने प्रावधान लागू गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता यस अघि ७० वर्षको साटो ६८ वर्षमै उपलब्ध गराइएको थियो। तत्कालीन सरकारको ‘सामाजिक सुरक्षा बढाउने’ घोषणासँगै यो निर्णय लागू गरिएको थियो।
सरकारको भनाइ अनुसार २०८२ साल साउन १ गतेबाट लागू हुने नयाँ व्यवस्था अनुसार ७० वर्ष उमेर पुगेपछि मात्र नयाँ लाभग्राहीले वृद्धभत्ता पाउने छन्। हाल ६८ वर्षमा भत्ता पाइरहेका लाभग्राहीको हक भने यथावत् रहनेछ।
आर्थिक सुधार आयोगको सिफारिसपछि सरकार सामाजिक सुरक्षा खर्च नियन्त्रणतर्फ लागेको हो। आर्थिक वर्ष २०७३/७४ मा सामाजिक सुरक्षामा ७.३ प्रतिशत खर्च हुने गरेकोमा २०८०/८१ मा यो अनुपात १९.६७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ।
२०७९/८० मा ६८ वर्षमा झारिएको उमेर फेरि बढाईएकाे छ । २०८०/८१ मा सामाजिक सुरक्षा तथा सहायता शीर्षकमा मात्र सरकारको २ खर्ब २६ अर्ब रुपैयाँ खर्च भएको तथ्यांकमा देखाईएकाे छ ।
विशेष वर्गलाई भने पुरानै व्यवस्था
नयाँ नीतिले सबै नागरिकमा समान प्रभाव नपर्ने भएको छ। साविक कर्णाली अञ्चल, दलित, अपांगता भएका, विवाह नगरेका, सम्बन्धविच्छेद भएका वा विधवा महिलाहरूले भने पहिले झैँ ६० वर्षमै वृद्धभत्ता पाउने व्यवस्था यथावत् राखिएको छ।
यी वर्गलाई मासिक २,६६० रुपैयाँको दरले भत्ता दिइन्छ। यी वर्गलाई सामाजिक तथा आर्थिक हिसाबले बढी संवेदनशील मानिएकाले सरकारले छुट व्यवस्था निरन्तरता दिएको हो।











