सरकारको दक्षिण कोरियामा अध्ययन अनुमति रोक्ने निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययन अनुमति (एनओसी) स्थगन गर्ने निर्णय लिएको केही दिनमै सर्वोच्च अदालतले त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।
न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले जारी गरेको आदेशमा अध्ययन सत्र सुरु भइसकेको अवस्थामा अनुमति रोक्दा विद्यार्थीलाई अपूरणीय क्षति पुग्न सक्ने देखिएको उल्लेख गरिएको छ । विशेषगरी छात्रवृत्ति पाइसकेका विद्यार्थीहरू प्रभावित हुने भएकाले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
उक्त आदेश एलिजा पाण्डे लगायतका प्रभावित विद्यार्थीहरूद्वारा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइपछि आएको हो। अदालतले १५ दिनभित्र मन्त्रालयले लिखित जवाफ दिन पनि निर्देशन दिएको छ।










