वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल

संवाददाता
२०८२ जेष्ठ १४, मंगलवार १७:४८

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले समृद्ध नेपाल निर्माणको मार्ग वनजङ्गलको संरक्षण र दिगो उपयोगमै रहेको स्पष्ट पार्नुभएको छ। मङ्गलबार हेटौंडामा आयोजित बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रमूलाई सम्बोधन गर्दै मन्त्री सिलवालले जलवायु परिवर्तन, वातावरणीय असन्तुलन र प्राकृतिक विपद्का समस्या समाधान गर्न वनजङ्गलको संरक्षण अपरिहार्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले अब केवल कागजी योजना र उद्देश्यहरूमा सीमित नभई व्यवहारिक कार्यान्वयनमा जानुपर्छ। यही भएको वनजङ्गलबाट समृद्धि सम्भव छ। प्राकृतिक स्रोतहरूको दिगो उपयोग र संरक्षणबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, पर्यावरणीय सन्तुलन र सामाजिक उत्थान सम्भव छ।”

मन्त्री सिलवालले विगतका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू झनै तीव्र रुपमा देखिएको उल्लेख गर्दै, वनजङ्गल नष्ट हुँदा त्यसको असर मानव जीवन, कृषि, जल स्रोत तथा जैविक विविधतामा प्रत्यक्ष देखिएको स्पष्ट पार्नुभयो। उहाँले वन संरक्षणलाई केवल सरकारी जिम्मेवारी नभई सामूहिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “हामीले स्वच्छ वातावरण चाहन्छौं भने वन बचाउनुको विकल्प छैन। सामुदायिक वनहरूको भूमिका अहिलेको परिवेशमा झनै महत्वपूर्ण भएको छ। यस क्षेत्रमा काम गरिरहेका समुदाय, संघसंस्था, स्थानीय तह, र सरकारबीच समन्वय र सहकार्य आवश्यक छ।”

संवाद कार्यक्रममा सहभागीहरूले सामुदायिक वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वनजन्य उत्पादकत्व वृद्धि, वन आधारित पर्यटनको सम्भावना र जलवायु अनुकूलनका उपायहरूमाथि छलफल गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*