कुलेखानी–मातातीर्थ सडक ८ दिन बन्द : वैकल्पिक मार्गको सुझाव
हेटौंडा। काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि महत्वपूर्ण कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक ८ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नतिको क्रममा ढलानको काम तीव्र गतिमा भइरहेकाले जेठ १३ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालन रोकिएको हो।
पूर्वाधार विकास कार्यालय, ललितपुरका अनुसार ढलानको चरणमा पुगेको सडकमा सवारी आवागमन हुँदा निर्माण कार्यमा गम्भीर बाधा आउने देखिएपछि सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो। कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठका अनुसार मोडहरूमा ढलान गर्न कठिनाइ भएकोले सवारी आवागमन रोक्नु परेको बताए ।
सशस्त्र क्याम्पदेखि मकैबारीसम्मको खण्डमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। इन्जिनियर श्रेष्ठले यात्रु तथा स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।










