बरिस्ता तालिम लिने ४० जनालाई प्रमाणपत्र हस्तान्तरण
हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास कार्यालय, मकवानपुरको वित्तीय सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सम्पन्न ३२ दिने (१६० घण्टे) बरिस्ता तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
आइतबार आयोजित एक कार्यक्रममा सामाजिक विकास कार्यालय, मकवानपुरका प्रमुख गोपालप्रसाद कँडेल र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रकी संयोजक मेनुका श्रेष्ठले संयुक्त रूपमा तालिममा सहभागी ४० जनालाई प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा सामाजिक विकास कार्यालय, मकवानपुरका प्रमुख कँडेलले निःशुल्क तालिम नागरिकले तिरेको करबाट सञ्चालन हुने भएकाले यसको महत्व बुझेर सिकेको सीपलाई रोजगारी र आयआर्जनमा जोड्न आग्रह गरे । उनले तालिमले स्वदेश तथा विदेशमा समेत राम्रो आयआर्जन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, तालिम केन्द्रकी संयोजक श्रेष्ठले सहभागीहरूले लगनशीलताका साथ सीप सिकेकोमा खुसी व्यक्त गर्दै उनीहरूको निरन्तरता र प्रगतिका आधारमा आगामी दिनमा थप उन्नत (एड्भान्स) तालिम सञ्चालन गरिने बताइन् । उनले साउनमा हुने सीप परीक्षणमा सहभागी भई आफ्नो क्षमता अभिवृद्धि गर्न र दक्ष प्रशिक्षक बन्नेसम्मको अवसर सदुपयोग गर्न सहभागीहरूलाई उत्प्रेरित गरिन् ।
गत चैत २७ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको तालिममा बरिस्ता÷कफीको परिचय, विभिन्न पेय पदार्थ बनाउने विधि, पोषण, सरसफाइ, क्याफे सञ्चालन र कफी मेसिनको प्रयोगबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो। कार्यक्रममा सामाजिक विकास कार्यालयका सूचना अधिकारी नवराज सापकोटा, तालिम केन्द्रका व्यवस्थापक किरण घलान, प्रशिक्षक ममता तामाङलगायतको उपस्थिति थियो।










