बाढीले सडक भत्किँदा कान्तिलोकपथ सडक बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह
हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीका कारण मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथ सडक बन्द हुँदा काठमाडौँ–हेटौँडा सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो बगाउँदा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बाढीले सडकको संरचना बिगारेपछि आवतजावत ठप्प भएको छ। उनका अनुसार हालै मात्र मर्मत गरिएको क्षेत्रबाट ग्राभेल बग्दा गाडीहरू रोकिएको र यात्रुहरू अन्योलमा परेका छन्।
“सडक खुलाउने काम सुरु भइसकेको छ, तर अझै केही समय लाग्न सक्छ,” अर्यालले जानकारी दिए। उनले काठमाडौँ–हेटौँडा आवतजावत गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
स्थानीय निकाय र सुरक्षाकर्मीहरूको सहकार्यमा माटो हटाउने तथा सडक सुचारु गर्ने प्रयास तीव्र पारिएको छ।











