मुख्यमन्त्री लामाद्वारा मातृभाषा प्रवर्द्धनमा बजेट विनियोजनको घोषणा
हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न आगामी बजेटमा विशेष बजेट विनियोजन गरिने घोषणा गर्नुभएको छ।
शुक्रबार हेटौंडामा आयोजित ‘मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवर्द्धन’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बागमती प्रदेशमा बहुसंख्यक तामाङ र नेवारी समुदायले प्रयोग गर्ने मातृभाषाहरू सरकारी कामकाजमा समावेश गरेकोमा खुसी व्यक्त गर्नुभयो।
उहाँले अन्य समुदायका प्रयोगमा आउने मातृभाषाहरूलाई पनि क्रमशः सरकारी कार्यप्रणालीमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। गोष्ठी पद्मरत्न लुमन्ती गुथीको आयोजनामा संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको सहयोगमा भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन,स्वास्थ्य मन्त्री किरण थापा मगर बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।
मुख्यमन्त्री लामाले मातृभाषा नाशिनु भनेको पहिचान मेटिनु भएको उल्लेख गर्दै मातृभाषा संरक्षण र विकासमा प्रदेश सरकार पूर्ण रुपमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो। ।
कार्यक्रममा मातृभाषा शिक्षादेखि सञ्चार र प्रशासनमा मातृभाषाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको थियो ।











