विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड
काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ । यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन् ।
हाल ३० वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको आधिकारिक साझेदार रूपमा नेपाल भित्रिएको छ । ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन के.सी.ले भने,‘अन्तर्राष्ट्रिय प्रविधिको अनुभव अब नेपाली यात्रु र चालकका लागि पनि उपलब्ध हुने छ ।’ ४० रुपैयाँबाट राइड, ३ प्रतिशत मात्र कमिशनमा सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १ सय ८० रुपैयाँ बाट शुरु हुने छ । शुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागू गरिएको छ ।
यस्तै, अबका ३ वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिशन नलिने घोषणा गरिएको छ, जसले चालकहरूको आम्दानीमा ठूलो सहयोग पुग्ने छ । याङ्गोले आफ्नै सवारी नभई स्थानीय चालक र ट्याक्सी व्यवसायीलाई समेत प्रविधिमार्फत यात्रुसँग जोड्ने छ ।
याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायो भने,‘स्थानीय उद्यमीसँगको सहकार्यले आर्थिक अवसरहरू सिर्जना गर्ने छ र सहरको स्मार्ट मोबिलिटी पूर्वाधारमा योगदान पुग्ने छ ।’ डिजिटल लेखा प्रणाली, रियल टाइम ट्रयाकिङ र फ्लिट व्यवस्थापनजस्ता फिचरले पारदर्शिता र दक्षता दुवै बढाउने ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक के.सी. ले बताए । यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ ।
एपमार्फत यात्राको गन्तव्य अनुसार स्वचालित रूपमा अनुमानित भाडा देखिने छ र हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि थपिने छ ।
याङ्गो समूह : ग्लोबल टेक जायन्ट
याङ्गो एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एशिया लगायतका क्षेत्रमा राइड, डेलिभरी, फूडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ । अब यहीँ प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको हो ।
ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक के.सी. का अनुसार अब ट्याक्सी चालक र बाइक राइडरहरूले घरमै बसेर क्यूआर कोड स्क्यान गरेर सहज रूपमा आफूलाई दर्ता गर्न सक्ने सुविधा शुरु गरिएको छ । यसो हुँदा चालकहरूलाई कार्यालय जानु पर्ने आवश्यकता हटाइएको छ, उनीहरुको समय र खर्च दुवै बचाउने के.सी. ले बताए ।
राइडर वा चालकले मोबाइलमा स्क्यान गरेर सिधैँ एपमार्फत आवश्यक विवरण भरेपछि केही मिनेटमै प्रोफाइल एक्टिभ हुने व्यवस्थामा यसमा मिलाइएको छ ।
केवल ३ प्रतिशत कमिशन, प्रत्येक ट्रिपमा बोनस पनि
हालका लागि ट्याक्सीमाण्डू – याङ्गोले केवल ३ प्रतिशत मात्रै कमिशन लिने भएको छ । यो कमिशन दर हाल नेपालमा उपलव्ध राइड सेयरिङहरुमै सबैभन्दा कम हो । साथै, प्रत्येक ट्रिपमा चालक र राइडरले बोनस पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ, जसले चालकको आम्दानी र राइडरलाई सहुलियत दिनमा प्रत्यक्ष सहयोग पुग्ने छ ।
याङ्गो सेवाको सहज पहुँचका लागि हाल १० वटा भन्दा बढी एजेन्सीहरूमार्फत् बजारमा सेवा उपलब्ध गराइएको छ ।










