राष्ट्र बैंकको गभर्नरमा पौडेलले लिए शपथ  

संवाददाता
२०८२ जेष्ठ ८, बुधबार १२:१२

काठमाडौ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

पौडेलको नियुक्ति मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको हो। सुस्त अर्थतन्त्र र बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको चुनौतीबीच गभर्नर नियुक्त भएका पौडेल समग्र आर्थिक सुधारका लागि महत्वपूर्ण भूमिकामा रहने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठनका पूर्व सल्लाहकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका पौडेलले क्यालिफोर्निया विश्वविद्यालय बर्कलेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन्। चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेल अर्थशास्त्रप्रति आकर्षित भई शिक्षण, अनुसन्धान र नीतिगत सल्लाहमा सक्रिय रहँदै आएका छन्।

शिक्षा, योजना तथा बैंकिङ क्षेत्रमा गहिरो अनुभव बोकेका उनी सानिमा बैंकका सञ्चालक, इसिमोड बोर्ड अध्यक्ष, कोलम्बो योजना परिषद्का अध्यक्ष जस्ता महत्वपूर्ण भूमिकामा रहीसकेका छन्। पौडेलको नेतृत्वमा राष्ट्र बैंकले स्थिरता, सुधार र विश्वास पुनःस्थापनाको बाटो समाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*