स्कुटरमा लुकाई ल्याइएको १३ किलो गाँजासहित एक व्यक्ति नियन्त्रणमा
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंं ३ लेवटस्थित भित्री सडक खण्डबाट प्रहरीले १३ किलो लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना.६३ प २५६१ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा स्कुटरको अगाडिको भागमा रहेको जेब्रा झोलाभित्र लुकाइ छिपाई ल्याइएको गाँजा फेला पारेको हो। गाँजा बोकेर ल्याउँदै गरेका व्यक्ति सोहि स्थानका ४३ वर्षिय प्रताप सिंह मोक्तान रहेको र उनलाई हाल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोक्तानको साथबाट बरामद स्कुटरसहित लागुऔषध गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।











