भिमफेदीमा विङ्गर गाडी दुर्घटना, १४ जना घाइते — ३ जनाको अवस्था गम्भीर
मकवानपुर | मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा आज दिउँसो करिब १:०५ बजेको समयमा यात्रुबाहक विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसी सल्लाको रुखमा अड्किएको अवस्थामा फेला परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भैसे तथा सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले उद्दार कार्य गरी घाइतेहरूलाई हेटौंडा अस्पताल पठाएको छ।

प्रहरीका अनुसार उक्त गाडीमा चालकसहित १४ जना सवार थिए, जसमा सबैजना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको जानकारी उद्दारमा खटिएको प्रहरी टोलीले दिएको छ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, र ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली परिचालित गरिएको थियो।दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










