मुख्य बजारमा पानी आपूर्ति पुनः सुरु, समन्वयमार्फत आपत्कालीन मर्मत कार्य सफल
हेटौंडा । हेटौंडा नगरका बासिन्दाले शुक्रवार बिहानदेखि फेरि नियमित रुपमा खानेपानी सेवा पाएका छन्। विगत केही दिनदेखि अवरुद्ध रहेको पानी आपूर्ति सेवा बिहीबार राति १ बजेदेखि पुनः सञ्चालनमा आएको हो।
पानी आपूर्तिमा समस्या उत्पन्न हुनुको कारण सडक डिभिजन कार्यालयले सामरी खोलापट्टीमा बनाइरहेको रिटेनिङ्ग वाल निर्माणको क्रममा खानेपानी बोर्डको १४ इन्चको डिआई पाइप क्षति भएको थियो। उक्त पाइप सामरी समवेल तथा बुङ्गदल मुहानबाट पानी वितरण गर्ने मुख्य माध्यम हाे।
आकस्मिकरुपमा उत्पन्न समस्याको तत्काल समाधानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका, ट्राफिक प्रहरी, खानेपानी तथा सरसफाई डिभिजन, सडक डिभिजन र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीच उच्च समन्वयमा मर्मत कार्य सम्पन्न भएको हो।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले यस्तो किसिमको समन्वयलाई ‘द्रुत र प्रभावकारी सार्वजनिक सेवा पुनःस्थापनाको उदाहरण’ भन्दै प्रशंसा गरे। मर्मत कार्यमा बोर्डका २५ जना प्राविधिक तथा श्रमिक खटिएका थिए।
सूचना अधिकारी संजय न्यौपानेका अनुसार पानी वितरणमा अवरोध नहोस् भन्नका लागि शुक्रवारदेखि नै नगरका मुख्य बजार क्षेत्रमा नियमित आपूर्ति सुरु गरिएको छ।










