सगरमाथा संवाद काठमाडौंमा सुरु : हिमाली आवाज विश्वमञ्चमा गुन्जिने प्रयास

संवाददाता
२०८२ जेष्ठ ३, शुक्रबार १०:५५

काठमाडौं । नेपालको जलवायु नेतृत्वलाई विश्वसामु स्थापित गर्ने लक्ष्यसहित ‘सगरमाथा संवाद’ आज काठमाडौंमा सुरु भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहित सुरु भएको यो संवाद नेपाल सरकारले पहिलो पटक आयोजना गरेको हो।

सगरमाथाको नामबाट पहिचान बनाएको नेपालले अब जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज बुलन्द गर्न खोजेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको उद्घाटन गर्दै जलवायु परिवर्तनका कारण विशेष गरी हिमाली क्षेत्रमा उत्पन्न संकट र त्यसको मानव जीवनमा पार्ने प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले गम्भीरता पूर्वक सोच्नुपर्ने बताएका छन्।

संवादमा १७५ जना विदेशी प्रतिनिधि तथा करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन्। तीन दिनसम्म चल्ने यो कार्यक्रममा नीति निर्माता, वैज्ञानिक, वातावरणविद् तथा सिविल सोसाइटीका प्रतिनिधिहरूबीच गहिरो छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन् । सगरमाथा संवादमा बिटिआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ ।

नेपालले जलवायु सहनशीलता निर्माण, ग्लोबल सहकार्य र हिमाली क्षेत्रको संरक्षणका लागि स्पष्ट सन्देश दिन खोजेको यो कार्यक्रम दक्षिण एसियाली राष्ट्रहरूका लागि समेत प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*