उर्जामा आत्मनिर्भरतातर्फ एक कदम: कुलेखानी तेस्रो जलविद्युत् आयोजना पुनः पूर्ण क्षमतामा
हेटौंडा । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आफ्नो बिग्रिएको युनिट मर्मत गरी पुनः १४ मेगावाट क्षमतामा उत्पादन सुरु गरेपछि विद्युत् आपूर्तिमा ठूलो राहत मिलेको छ।
गत वैशाख १५ देखि थालिएको मर्मत कार्य १४ दिनपछि सम्पन्न भई सोमबार अपराह्नबाट दुवै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्। नेपाली १८ र चिनियाँ ३ प्राविधिकको समन्वयमा मर्मत कार्ष सम्पन्न भएको हाे ।
यस आयोजनाको पुनः पूर्ण क्षमतामा फर्किनु विद्युत् प्राधिकरणका लागि मात्र होइन, देशको ऊर्जा सुरक्षाका लागि पनि सकारात्मक रहेको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले बताए । विशेष गरी ‘ब्याकअप’ जलाशयको रूपमा रहेको कुलेखानीमा अहिले पानीको सतह लगातार घट्दो अवस्थामा रहेको छ । तेस्रो आयोजना पुनः सञ्चालनमा आउनुले पिक आवरको समयमा लोड व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ।
१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोमा २ वटा युनिट छन् । एउटा युनिटको जेनेटर बिग्रे पनि अर्को युनिटबाट ७ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । सोमबार अपराह्नदेखि १४ मेगावाट विद्युत् उत्पादन भएको प्राविधिकहरुले बताएका छन् ।
भीमफेदी गाउँपालिकाको सानुटारमा अवस्थित यो केन्द्रले न केवल विद्युत् उत्पादनमा योगदान दिन्छ, तर रणनीतिकरूपमा आपतकालीन अवस्थाका लागि विकल्प पनि दिन्छ। कुलेखानीको पहिलो र दोस्रो आयोजनासहित समग्रमा १०६ मेगावाट क्षमताको स्रोत अहिले चौबिसै घण्टा सञ्चालनमा रहेर मुलुकको विद्युत् आपूर्तिमा टेवा पुर्याइरहेको छ।
विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशयमा अहिले दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घट्ने गरेको छ । सोमबार अपराह्न १ हजार ५ सय ५६ सेन्टिमिटर पानीको सतह रहेको छ । आयोजना अहिले चौबिसै घण्टा सञ्चालनमा छ । जलाशयमा १ हजार ५ सय ३० मिटर उचाइसम्म पानी अट्ने क्षमता छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रोबाट १४ मेगाबाट उत्पादन क्षमता छ ।
नेपालजस्तो जलस्रोतमा धनी देशमा यस्ता आयोजना टिकाउ र भरपर्दो रूपमा सञ्चालनमा रहनु ऊर्जा स्वतन्त्रताका लागि अत्यन्तै आवश्यक छ।











