शान्ति, अहिंसा र करुणाको सन्देश बोकेको बुद्ध जयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै

संवाददाता
२०८२ बैशाख २९, सोमबार ०७:२१

काठमाडौं  । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको स्मरणमा बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसको रुपमा श्रद्धा, भक्ति र ध्यानसहित बुद्ध जयन्ती मनाउँदै आएका छन्।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा विशेष पूजा, प्रवचन, ध्यान र प्रार्थनाका कार्यक्रम आयोजना हुँदैछन्। घर, गुम्बा, चैत्य र विहारमा दीप प्रज्वलन, धूपबत्ती अर्पण तथा करुणा र अहिंसाको मार्गमा हिँड्ने सङ्कल्पसहित श्रद्धालु सहभागी भइरहेका छन्।

कपिलवस्तुका राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा संसारको दुःखको कारण खोज्दै त्यागको बाटो समातेर तपस्या गरेपछि बुद्धत्व प्राप्त गरेका थिए। उहाँको शिक्षाले आज पनि सहिष्णुता, सद्भाव र शान्तिको मार्ग देखाइरहेको छ।

नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रूपमा समेत ग्रहण गर्दै बुद्धका उपदेशलाई आत्मसात् गर्ने प्रयास गरिरहेका छन्। साे अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेलले पनि गौतम बुद्धको २५६९औँ जन्मजयन्ती शुभकामना व्यक्त गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*