संविधान र धर्मको नाममा आन्दोलन, राजधानी केन्द्रित रणनीति– के सत्ताको विकल्प खोज्दैछ राजसंस्था पक्ष?

संवाददाता
२०८२ बैशाख २८, आईतवार १४:३७

काठमाडौँ । नेपालको वर्तमान गणतान्त्रिक व्यवस्था र धर्म निरपेक्षताको विकल्पको रूपमा संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्ने उद्देश्यले गठित ‘संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनलाई राजधानी केन्द्रित बनाउँदै त्यसको तयारी तीव्र पारेको छ। समितिको नेतृत्वकर्ता नवराज सुवेदीले अध्यक्षता गरेको बैठकले आन्दोलनलाई काठमाडौँ उपत्यकाभित्र मात्र सीमित नराखी उपत्यकाबाहिरबाट समेत सहभागिता सुनिश्चित गर्ने रणनीति बनाएको हो।

जेठ १५ देखि सुरु हुने भनिएको आन्दोलनको सन्दर्भमा समितिले काठमाडौँ बाहिरका जनतालाई राजधानी आउन आह्वान गरेको छ। यसले आन्दोलनलाई केवल राजधानीको घटनाक्रममा सीमित नराखी, राष्ट्रिय बहसको विषय बनाउने संकेत गर्छ। सुवेदीका अनुसार, यो कुनै सामान्य प्रदर्शन नभएर ‘राष्ट्रवादी शक्तिको एकताको नयाँ चरण’ हो। उनले संविधान, धर्म, संस्कृति र राष्ट्रिय पहिचानको नाममा आन्दोलनको वैचारिक जग मजबुत हुँदै गएको दाबी गरे।

आन्दोलनको पूर्वतयारीस्वरूप जेठ ८ देखि ११ गतेसम्म उपत्यकाका १५ वटै पालिकामा ‘जनजागरण यात्रा’ सञ्चालन गरिने भएको छ, जसको सुरुवात साँखुबाट र समापन चाँगुनारायणमा हुनेछ। यो यात्राले उपत्यकावासी जनतालाई आन्दोलनप्रति आकर्षित गर्ने, समर्थन जुटाउने र वैचारिक वातावरण तयार पार्ने उद्देश्य बोकेको छ।

यसबीच, जेठ १३ गते वृहत् युवा स्वयंसेवक भेला गरी संगठनात्मक तयारीलाई बलियो बनाउने निर्णयले आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*