दीगो विकासका लक्ष्यमा युवाको भूमिका महत्वपूर्ण : मकवानपुर बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुदै

संवाददाता
२०८२ बैशाख २६, शुक्रबार १८:२२

हेटौंडा । दीगो विकासका लक्ष्य (SDG) हासिल गर्न युवाको सक्रिय सहभागिता अपरिहार्य भएको निष्कर्ष निकाल्दै मकवानपुर बहुमुखी क्याम्पसले तीनदिने अन्तर्राष्ट्रिय शैक्षिक  सम्मेलनको आयोजना गर्न लागेको छ।

‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल उद्देश्यका साथ सुरु हुने सम्मेलनले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारमा जोड्ने प्रयास गरेको क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमार्फत उनले स्थानीय समस्या समाधानमा शिक्षा र अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्ने भएका छन् ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका एक सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक संस्थाहरूबीच सहकार्य बढाउने उद्देश्य सम्मेलनको मुख्य आकर्षण हो।केही प्रतिनिधि र केही विज्ञ भने अनलाईनमार्फत नै सहभागी हुने उहाँले बताएका छन् । सम्मेलन वैशाख २७ गतेदेखि वैशाख २९ गतेसम्म हुन लागेकाे हाे ।

सिलवालका अनुसार सम्मेलनमार्फत युवाको नेतृत्व विकास, अनुसन्धान क्षमताको अभिवृद्धि र दीगो विकासका लक्ष्यहरूप्रति स्थानीय तहको प्रतिबद्धता बढाउने अपेक्षा गरिएको छ। सम्मेलनमा वातावरण, शिक्षा, लैङ्गिक समानता, आर्थिक विकास जस्ता बहुआयामिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्। जापान,भारत, मलेसिया, थाइल्याण्डबाट अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने छन्, भने कार्यक्रममा देशभरबाट ५७ वटा अनुसन्धान कार्यपत्र समुहगत रुपमा प्रस्तुत हुने प्रमुख सिलवालले जानकारी दिएका छन् ।

यस पहललाई स्थानीय शैक्षिक संस्थाहरूले दीगो विकासप्रतिको गम्भीर प्रयासका रूपमा लिएको जनाएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, हेटौँडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहेको क्याम्पस प्रमुख सिलवालले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*