बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइयो
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश भाषा दिवस २०८२ मनाइएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइएको हो ।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा, नेपाल तामाङ घेदुङसंघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।
हेटौंडाको हुप्राचौरबाट बिभीन्न समुदायहरुको पहिरन र झाकी सहित र्याली निकालिएको भाषा दिवसको प्रभातफेरी र्यालीले हेटौंडा बजार क्षेत्रको परिक्रमा गरेर मेनरोडको रोयलपार्टी प्यालेसमा सभामा परिणत भएको थियो ।
बागमती प्रदेश सरकारले भाषा दिवसका अवसरमा आज सार्वजनिक विदा दिएको छ । औपचारिक कार्यक्रमको उद्घाटन् प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका थिए ।
प्रदेश सरकारले नेपालको संविधानको धारा ७को उपधारा २ को प्रावधान अनुसार तामाङ भाषा र नेपालभाषालाई (नेवारी) सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ। यो कार्यान्वयन गर्ने बागमती प्रदेश नेपालकै पहिलो प्रदेश बनेको छ।










