बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइदैं
हेटौंडा । बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाउने भएको छ । उक्त प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइने लागेको हो ।
प्रदेश सरकारले नेपालको संविधानको धारा ७को उपधारा २ को प्रावधान अनुसार तामाङ भाषा र नेपालभाषालाई ९नेवारी० सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ। यो कार्यान्वयन गर्ने बागमती प्रदेश नेपालकै पहिलो प्रदेश बनेको छ।
गत वर्षदेखि सुरु गरिएको “प्रदेश भाषा दिवस”को यो दोस्रो संस्करण हो। संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल तामाङ घेदुङ र नेवाः देय् दबूको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा भाषिक समावेशिता, सांस्कृतिक एकता र आपसी सद्भावका सन्देश फैलाउने उद्देश्य राखिएको छ।
संस्कृति तथा पर्यटन मन्त्री तथा प्रदेश भाषा दिवस मूल समारोह समितिका संयोजक बिमल ठकुरीका अनुसार, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनले सरकारी निकायहरूको बोर्डहरूमा तामाङ भाषा र नेपालभाषाको प्रयोग सुरु भएको र प्रदेश सभा सचिवालयमा अनुवादकको व्यवस्था गरिएको जानकारी दिए।
समारोहको अवसरमा मन्त्री ठकुरीले सम्पूर्ण प्रदेशवासीमा भाषिक समानता र सांस्कृतिक सद्भावका भावना विकास गर्न ‘प्रदेश भाषा दिवस–२०८२’ सफल बनाउन हार्दिक अपिल गरेका छन्।











