बागमती प्रदेशमा प्रदेश भाषा दिवस–२०८२ मनाईदै
हेटौंडा । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” यही वैशाख २४ गते बुधबार हेटौंडामा मनाइने भएको छ।
प्रदेश सरकारले नेपालको संविधानको धारा ७काे उपधारा २ काे प्रावधान अनुसार तामाङ भाषा र नेपालभाषालाई (नेवारी) सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ। यो कार्यान्वयन गर्ने बागमती प्रदेश नेपालकै पहिलो प्रदेश बनेको छ।
गत वर्षदेखि सुरु गरिएको “प्रदेश भाषा दिवस”को यो दोस्रो संस्करण हो। संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल तामाङ घेदुङ र नेवाः देय् दबूको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा भाषिक समावेशिता, सांस्कृतिक एकता र आपसी सद्भावका सन्देश फैलाउने उद्देश्य राखिएको छ।
संस्कृति तथा पर्यटन मन्त्री तथा प्रदेश भाषा दिवस मूल समारोह समितिका संयोजक बिमल ठकुरीका अनुसार, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनले सरकारी निकायहरूको बोर्डहरूमा तामाङ भाषा र नेपालभाषाको प्रयोग सुरु भएको र प्रदेश सभा सचिवालयमा अनुवादकको व्यवस्था गरिएको जानकारी दिए।
त्यस्तै, ‘प्रदेश भाषा ऐन’ कार्यान्वयनलाई सरल बनाउने उद्देश्यले भाषा नियमावलीको मस्यौदा तयारी भइसकेको र यसै वर्षभित्र कार्यान्वयनमा ल्याइने विश्वास पनि मन्त्री ठकुरीले व्यक्त गरे।
भाषिक विकासको क्षेत्रमा मन्त्रालयले त्रैमासिक बुलेटिन प्रकाशन, ‘प्रदेश भाषा स्मारिका–२०८२’ को प्रकाशन तथा भाषा तालिम पाठ्यक्रम निर्माणजस्ता कार्यहरू अघि बढाएको छ। यसै वर्ष पहिलोपटक आयोजित “बागमती साहित्य महोत्सव” प्रदेशको विविध भाषाभाषी समुदायबीचको सहकार्यको प्रतिकको रूपमा रहेको मन्त्री ठकुरीले जनाए।
समारोहको अवसरमा मन्त्री ठकुरीले सम्पूर्ण प्रदेशवासीमा भाषिक समानता र सांस्कृतिक सद्भावका भावना विकास गर्न ‘प्रदेश भाषा दिवस–२०८२’ सफल बनाउन हार्दिक अपिल गरेका छन्।










