ज्ञानबहादुर शाहीको आरोप:राजसंस्था जनमत वा आन्दोलनबाट होइन, छलकपटबाट हटाइयो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको राजसंस्थालाई जनमत वा आन्दोलनबाट नभई छलकपटका माध्यमबाट हटाइएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले वर्तमान संविधान र राजनीतिक व्यवस्थाको उद्गम विदेशी हस्तक्षेपबाट भएको आरोप लगाए। उनले राजसंस्थालाई हटाउने प्रक्रिया स्वाभाविक र जनचाहनाबाट नभई योजनाबद्ध चालबाजीको परिणाम भएको बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै शाहीले टिप्पणी गरे रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न सक्दैन। बाघ भनेको बाघ नै हो। उनले वर्तमान दलहरूको उत्पत्ति विदेशमा भएको दाबी गर्दै, केही पूर्वराजदूत र भारतकी तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजका अभिव्यक्तिहरूलाई उदाहरण प्रस्तुत गरे।
यो व्यवस्था र संविधान बाहिरबाट आयातित हो । शाहीले संसदमा भने १२ बुँदे सम्झौता, नेताहरूको लुकाइएका अवस्थाहरू—सबैको उत्पत्ति विदेशी भूमिमा भएको प्रमाणित छ।
उनले थपे, यो राष्ट्रको इतिहास हो—राजसंस्था। राजा भनेको राजा नै हो,बाघ बाघै हुन्छ। रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन।











