भासिएकाे पाँचदिनसम्म पनि फेला परेन पिकअप भ्यान, भूगर्भविदको टोलीले अध्ययन गर्दै 

संवाददाता
२०८२ बैशाख २३, मंगलवार १०:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान  जमिनमुनि भासिएकाे पाँचदिनसम्म पनि फेला परेकाे छैन् ।  शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी नभेटिए पछि आइतबार पनि सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम गरिएको थियोे ,भने साेमबार माछापाेखरीकाे पानी सुकाउने तर्फ जुटेका थिए ।

आज मंगलबार गाडी भासिएर बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ । जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोलीले अध्ययन थालेको छ । टोलीले घटनास्थलमा पुगेर जमिनको भूगर्भीय अवस्था, माटोको बनावट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको अध्ययन गरिरहेको छ। प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्था सम्बन्धी अध्ययन गर्ने अधिकारीले जानकारी दिएका छन् ।

निकेश राईको नाममा रहेको ना ४ च ४८३३ नम्बरको टाटा मोटर्सको योद्धा डीआई गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँबाट गुडिरहदा एक्कासि भासिन पुगेकाे हाे । गाडी   धसिँदै जान थालेपछि सहचालक र चालकले गाडिकाे ढालामा सामान अड्याउन बाधेर राखेकाे डाेरीले तानेर  नजिकैको पोलमा बान्ने कोसिस गरेका थिए । तान्ने कोसिस गर्दागर्दै केही मिनेटमै हातै लछारेर गाडि भासिएकाे गाडी धनी तथा चालक हरेराम राईले बताए ।

आइतबार गाडी भासिएको छेउमा रहेको पोखरीबाट माछा र पानी निकाल्ने काम भएको थियो । पोखरीको माछा र पानी खाली गरेपछि गाडी भासिएको स्थानमा गाडीको खोजी गर्न सहज हुने विश्वास गरिएको छ ।

गाडी भासिएको सडकको दायाँ–बायाँ १८ बिघा क्षेत्रफलमा   ६ वटा माछा पालन पोखरीहरू छन्। माछापोखरीहरू रत्नकाली एग्रिकल्चर फार्मको हो।  विगत पाँच सात वर्ष अघिदेखि नै सडक छेउमा पानी तान्ने बोरिङ गाडिएको  थियो  । त्यही बोरिङसँगै सडक भासिएर गाडी हराएको हो । बोरिङकै कारणभित्रको माटोहरू बाहिर आएर भित्री भाग खुकुलो भई भासिन गएको  हुन सक्ने अनुमान  स्थानीयहरूको छ।

गाडी भासिएको केही सेकेन्डमै गाएब हुदाँ गाडी चालक तथा सहचालक अचम्मितमा परेका छन् । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैलाई अचम्मित तुल्याएको छ।

हेटौँडा उपमहानगरपालिकाले उक्त स्थानको अध्ययनका लागी भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*