जनताको जीवनमा सकारात्मक परिवर्तन आउन अझै बाँकी छ : पूर्व राष्ट्रपति भण्डारी

संवाददाता
२०८२ बैशाख २०, शनिबार १७:१६

हेटौंडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक प्रणाली र संविधान निर्माण जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएपनि आम जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन महसुस हुने गरी काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ।

शनिबार हेटौंडामा आयोजित मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारण सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले सामाजिक तथा आर्थिक रूपान्तरण मार्फत जनताले अनुभूति गर्ने परिवर्तनको खाँचो औंल्याउनुभयो।

उहाँले स्व. नेता मदन भण्डारीले देखाएको मार्ग पछ्याउँदै राजनीतिले जनताको जीवनस्तर उकास्न आवश्यक रहेको धारणा राख्नुभयो। “संविधान बन्यो, राजनीतिक प्रणाली परिवर्तन भयो, तर जनताको जीवनमा सोचेको जस्तो परिवर्तन अझै आएको छैन,” पूर्व राष्ट्रपतिको भनाइ थियो।

त्यसैगरी, शनिबारनै हेटौंडामा प्रदेश युवा परिषद् बागमतीले आयोजना गरेको ‘उद्यमशीलता विकाससम्बन्धी क्षमता अभिबृद्धि तालिम’ लाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले अबको समय महिलाले देशको ७० प्रतिशत भार थाम्नुपर्ने परिस्थिति सिर्जना हुँदै गएको बताउनुभयो।

उहाँले राष्ट्र, राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकतालाई ध्यानमा राख्दै युवाहरू उद्यमशीलतामा लाग्नुपर्नेमा जोड दिनुभयो। देशभित्र उपलब्ध स्रोत र साधनको उचित उपयोग गर्दै स्वरोजगारमार्फत आर्थिक विकासमा योगदान दिनुपर्ने कुरामा पनि उहाँले युवाहरूसँग आग्रह गर्नुभयो।

तालिममार्फत प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतार्दै स्वदेशमै आत्मनिर्भर बन्ने अभ्यास युवाले गर्नुपर्ने भन्दै प्रदेश युवा परिषद्ले सञ्चालन गरिरहेको सीप तालिमको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँले थप युवाहरूलाई यस्ता कार्यक्रमहरूमा सहभागी हुन आह्वान गर्नुभयो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*