प्रेस चौतारी मकवानपुरद्धारा प्रतिनिधित्व गर्ने चौतारीकर्मीलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेका छन् । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका शिवकुमार रिजाल , पुष्प अधिकारी र आयोग सदस्यहरु उज्वल अधिकारी र आरती ढकाललाई बधाई पत्रसहित सम्मान गरिएको थियो । साथै प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटिको महासचिवमा प्रकाश दाहाल , कोषाध्यक्षमा रामशरण दुलाल र सदस्यहरु विवश अधिकारी , रुपक कालीराज , रविन ढुंगाना र सुनिता विष्टलाई बधाई पत्रसहित शुभकामना दिईएको थियो ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशमा सर्वसम्मत चयन भएकी प्रेस चौतारीकर्मी नानीमाया सापकोटा र सञ्चारिका समुह मकवानपुरमा अध्यक्षमा सर्वसम्मत चयन भएकी प्र्रेस चौतारी जिल्ला कार्यसमिति सदस्य निशा गुरुङ्लाई पनि बधाई पत्र सहित शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको मकवानपुरको बार्षिक कार्ययोजनामाथि छलफल समेत भएको थियो । अध्यक्ष दाहालले आगामी बार्षिक कार्ययोजनामा प्रेस चौतारी मकवानपुरको कार्यालय निर्माणको लागि जग्गा खोजी तथा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । यसैगरी पत्रकारहरुको सम्मान र पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने र उक्त कोषको ब्याजबाट सम्मान र पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यसैगरी , चौतारी उपचार कोष स्थापना गर्ने , उपचार कोषबाट जिल्लाका चौतारीकर्मी दुर्घटनामा पर्दा र गम्भिर बिरामी भएर उपचार गर्नुपर्दा चौतारीकर्मीलाई कोषको ब्याजबाट सहयोग गर्ने कार्ययोजना अघि सारिएको छ । संगठनको नेतृत्वले जिल्ला पार्टीको सहयोगमा अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै उक्त अनलाइन आगामी चौतारीको नेतृत्वमा आउने कार्यसमितिलाई हस्तान्तरण गर्ने र कम्पनीमार्फत विभिन्न योजनाका कार्यक्रममहरुमा सहज बनाउने अध्यक्ष दाहालले प्रस्तुत गरिएको कार्ययोजनामा समेटिएको छ ।
यस्ता कार्यक्रमहरु गर्दा पत्रकार महासंघ सदस्यता वृद्धि गरेर महासंघमा चौतारीको बलियो उपस्थिति बनाउन र पार्टीको मिसन ८४ लाई महत्वपुर्ण योगदान सक्षम बनाउने अपेक्षा गरिएको छ । साथै ६/६ महिनामा चौतारीकर्मीको लेखन समीक्षा गर्ने , चौतारी सदस्यहरुले पार्टीको प्रचारमा गरेको योगदालाई समिक्षा गरेर प्रोत्साहन र सम्मानको सुरुवात गर्नुका साथै प्रेस चौतारीको कार्यालयलाई व्यवस्थित बनाउनको लागि कार्पेट , टेबुल–कुर्सी जस्ता फर्निचरदेखि , कम्युटर , प्रिन्टर , पंखा , दराजलगायतको व्यवस्थापन गर्न समन्वय र सहजिकरणको लागि अपिल गर्ने प्रेस चौतारीको वार्षिक कार्ययोजनमा समेटिएको छ ।
प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव सिता विष्ट , पत्रकार महासंघ बागमती प्रदेशका उपाध्क्ष हरी हुमागाई , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।










