हेटौंडा अस्पतालमा अनियमित खर्च , १५ दिनभित्र स्पष्टिकरणसहित कागजात पेश गर्न अख्तियारको निर्देशन
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले हेटौंडा अस्पतालमा पुस महिनामा रु. ८ लाख मनोमानी ढंगले खर्च भएको उजुरीको आधारमा अस्पतालसँग स्पष्टिकरण माग गरेको छ। आयोगले अस्पताललाई १५ दिनभित्र सम्बन्धित कागजातसहित राय–प्रतिक्रिया पेश गर्न निर्देशन दिएको छ।
पुस महिनामा मात्र होटल स्मारकलाई ८ लाख रुपैयाँको भुक्तानी गरिएको र सो खर्च रक्सी र मासु सेवनका लागि भएको भन्ने उजुरी आयोगमा परेको थियो। साथै, औषधि तथा फर्निचर खरिदमा पनि अनियमितता भएको आशंका गरिएको छ।
अख्तियारले अस्पताललाई सम्बन्धित आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का निम्न विवरणसहित प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउन भनेको छ । विनियोजित बजेट विवरण र सफ्टवेयरमा इन्पुट प्रमाण , होटल भुक्तानीसम्बन्धी बिल र भर्पाई ,औषधि र औषधीजन्य सामग्री खरिदका लागि लागत अनुमान, स्पेसिफिकेशन, भेरिफिकेशन, दाखिला प्रतिवेदन र
फर्निचर खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया र कागजातहरूकाे विवरणसहित प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउन माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा उल्लेख गरेकाे पत्र अनुसार, अस्पतालले ती सबै विवरणहरू पञ्जिकासहित १५ दिनभित्र पेश गर्न अाग्रह गरेकाे छ । यस प्रकरणले अस्पताल प्रशासनमा पारदर्शिता र जवाफदेहिताको प्रश्न उठाएको छ।










