१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै
हेटौंडा । मे १-आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित देशभर मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा विश्राम, आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको आन्दोलनको स्मृतिमा यो दिवस मनाइन्छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
नेपालमा पहिलोपटक २०१९ सालमा मजदुर संगठनले मे दिवस मनाएको थियो भने २०४६ सालपछि सार्वजनिक बिदा दिइन थालिएको हो। विभिन्न श्रमिक संगठनहरूले आज देशभर र्याली, सभा र सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।
श्रमिकको अधिकार र सम्मानका लागि यो दिवसले सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्य राखेको छ।











