नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा हुँदै

संवाददाता
२०८२ बैशाख १६, मंगलवार १७:३३

 

हेटौंडा। नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा हेटौंडामा यहि वैशाख २६ र २७ गते आयोजना हुने भएको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।

मोबाइल एसोसिएसन अफ मकवानपुरलाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको र भेलामा देशभरका ६० जिल्ला, सात प्रदेश र महासंघ केन्द्रीय नेतृत्व गरी करिब एक हजार मोबाइल व्यवसायी सहभागी हुने अनुमान आयोजकको छ।

साधारणसभा मोबाइल व्यवसायमा देखिएका कानुनी समस्या, समाधानका उपाय, अवसर र चुनौतीका विषयमा केन्द्रित हुने जनाइएको छ। त्यस्तै, मोबाइल बिक्रीमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा र त्यसले व्यवसायमा पारेको असरलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि खुला र बन्द सत्रमार्फत छलफल गरिनेछ।

कार्यक्रम हेटौंडा-४, मेनरोडस्थित रोयल पार्टी प्यालेसमा हुनेछ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साधारणसभाको उद्घाटन गर्नेछन्। साथै, कार्यक्रम स्थल बाहिर मोबाइल र एसोसरिजका १० वटा स्टल रहनेछन्, जहाँ सहभागी कम्पनीहरूले आफ्ना उत्पादनबारे जानकारी दिनेछन्।

साधारणसभालाई राभोज मोबाइल र साओ मि मोबाइलले मुख्य प्रायोजन गर्ने छन् भने बीएन ट्रेडर्स, अल्टिमा, माइ पावर, आरती चार्जर उद्योग र नोइजले सहप्रायोजन गर्ने छन्। कार्यक्रमको उद्घाटन यहि वैशाख २७ गते विहान ७ बजे प्रभातफेरिको आयोजना गरी गरिनेछ।

कार्यक्रममा महासंघले करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको केन्द्रीय उपाध्यक्ष तथा साधारणसभा संयोजक छतेन्द्र आचार्यले जानकारी दिएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*