आज माता तिर्थ औँसी
हेटौंडा । आज माता तिर्थ औँसी, आमाकाे मुख हेर्ने दिन । आजकाे औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै पनि नआउने दरार विस्वास गरिन्छ । माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।
आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । आमा नभएकाहरुले पनि आज बृद्वाआश्रम र मठ मन्दिरमा गएर दान पुण्य गर्ने गर्छन् ।
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् ।










