शिक्षामन्त्री विद्या भट्टराईले पदबाट दिइन् राजीनामा
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भए पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । राजीनामा दिनुअघि शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा छलफल गरेकी थिइन् ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।











