नेपाल बार एसोसिएसनको निर्वाचनमा मन्दिरा अधिकारीको उमेदवारी

संवाददाता
२०८१ चैत्र २०, बिहीबार ०९:५३

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २३ गते निर्वाचन हुँदै छ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य ( महिला खुला ) पदमा उमेदवारी दिने निर्णय गरेकी छन् । अधिकारीका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी दर्ता गराएकी हुन् । पेशागत जीवनमा कानुन व्यवसायीहरूले भोग्ने कठिनाइहरू बारे आफू भुइँ तहबाट जानकार रहेको बताउँदै अधिकारीले नेपाल बार एसोसिएसनको महत्वपूर्ण भूमिका नवप्रवेशी कानुन व्यवसायीहरूलाई आवश्यक मार्गदर्शन दिने र पेशागत स्थायित्व प्रदान गर्ने हुनु पर्ने धारणा राखेकी छन् ।

‘बारको मुख्य उद्देश्य नै कानून व्यवसायीहरुको हकहितको संरक्षण गर्नु हो, त्यसलाई नै केन्द्र विन्दुमा राखेर काम गर्नु पर्छ’, अधिकारीले भनिन् । नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने / अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनु पर्ने अधिकारीको भनाइ छ । कानून व्यवसायीहरुबीच एकताको विकास गर्नको लागि नेपाल बारको भूमिका अपरीहार्य छ । अधिवक्ता अधिकारीले कानुन व्यवसायीहरूको पेशागत हकहितका विषयमा प्रभावकारी रूपमा काम गर्न नसकेको बताइन् ।

कानुन व्यवसायीहरूको सहज पहुँच बारसम्म नपुगेको अधिकारीको भुमिका छ । न्यायालय र कानूनी प्रशासन प्रणालीबीच सेतुको भूमिका निर्वाह गर्ने बारको पछिल्लो भुमिका केही खस्किएको अधिवक्ता अधिकारीको भनाइ छ । संवैधानिक रुपमा बार एसोसिएसनले सरकारलाई खबरदारी गर्ने भूमिका त निर्वाह गरे पनि संस्था भित्रको निर्णय प्रक्रियामा विधानअनुसार सुधार आवश्यक रहेको अधिकारीको भनाइ छ । कानून व्यवसायीहरुलाई गुणस्तरीय तालिम, सूचना तथा नेटवर्किङ सुविधा उपलब्ध गराउन पहल गर्ने अधिकारीको योजना छ ।

नेपाल बारमा निर्वाचित भई आएमा विधिको शासन र मानव अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अधिकारीले बताइन् । नेपाल डेमोक्रयाटि लयर्स एशोसिएसनसँग आबद्ध अधिकारीले कानुन व्यवसायीहरूको पुरानो प्रवृत्तिलाई बदल्दै नयाँ पुस्ताको भावना र समयको मागलाई सम्बोधन गर्दै अघि बढ्नु पर्नेमा जोड दिँदै आफ्नो उम्मेदवारी परिवर्तनको चाहना गर्नेहरुको परीक्षणको रूपमा रहेको उल्लेख गरिन् ।

महिलाका लागि बार एसोसिएसनमा सीमित अवसर रहेको र आसेपासे प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताउँदै अधिकारीले यस्ता विसंगतिहरू हटाउन आफूले नेतृत्वमा आउन खोजेको स्पष्ट पारिन् । निर्वाचनबाट सुयोग्य उमेद्वारहरु छनौट भइ आएमा नेपाल बार एसोसिएसन कानुन व्यवसायीहरूको पेशागत विकास, संस्थागत सुधार र नेतृत्व परिवर्तनको आधार बन्ने विश्वास अधिकारीले व्यक्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*