कुलमान घिसिङ पदमुक्त भएपछि विवाद उत्पन्न
हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए पछि थप विवाद उत्पन्न भएकाे छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको भन्दै देश भरका विभिन्न ठाउँहरुमा यसकाे विराेध भईरहेकाे छ ।
सरकारले आफ्नाे स्वार्थपूर्तिका लागि घिसिङलाई विधुत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएकाे भन्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला पनि जलाएकाे छ ।
कार्यकाल आगामी साउनमा सकिने भए पनि सरकारले घिसिङलाई चार महिनाअघि नै हटाएको हो। नेपाल विद्युत् प्राधिकरण ऐन २०४९ बमोजिम कार्यकारी निर्देशकले पालना गर्नुपर्ने कर्तव्य घिसिङले पूरा नगरेको सरकारले आरोप लगाएकाे छ । मूल कारण डेडिकेटेड र ट्रंकलाइन विवाद भए पनि मन्त्रालयले घिसिङमाथि विभिन्न आरोप लगाउँदै आएको थियो।
प्राधिकरणको सञ्चालक समिति बैठकमा घिसिङले नोट अफ डिसेन्ट लेखेपछि ऊर्जामन्त्रीसँग थप विवाद बल्झिएको थियो।प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमा २८ उद्योगबाट करिब सात अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जिकिर गर्दै आएको छ।










