गर्मी महिनाको सुरुवातीसँगै पर्यटकीय गन्तव्यको केन्द्र बन्दै जलबिरे झरना
चितवन । इच्छाकामना गाउँपालिका–६ स्थित लामो झरनामा जाडो महिना सकिएर गर्मीको सुरुवातसँगै पर्यटकहरूको आगमन बढ्न थालेको छ। मुग्लिनबाट नारायणगढ तर्फ सात किलोमिटरको दूरीमा अवस्थित यो झरना, पछिल्ला केही वर्ष यता पर्यटहरुको गन्तव्यको केन्द्र बनिरहेको छ । नारायणघाट – मुग्लिन सडकखण्डबाट १५ मिनेटको पैदल पश्चात् पुगिने झरनामा गर्मी महिनामा पर्यटकको सङ्ख्या बढ्ने गरेको छ।
गर्मी महिना लागेपछि दैनिक ३०० देखि ४०० पर्यटकहरु झरनाको अवलोकन गर्न आउने जलबिरे झरना विकास समितिका सचिव अमर अधिकारीले बताए । शनिबार र बिदाका समयमा यो संख्या अझ बढी हुने गरेको उनको भनाई छ।
लामो झरना, काठमाडौँबाट केवल ५ घण्टको दूरीमा अवस्थित छ, जसले गर्दा गर्मी र थकानबाट राहत चाहने आन्तरिक पर्यटकका लागि एक प्रमुख आकर्षणको केन्द्र बनिरहेको छ। यहाँ प्रवेशका लागि स्वदेशी पर्यटकलाई ५० रुपैयाँ र विदेशी पर्यटकलाई १०० रुपैयाँ शुल्क तोकिएको छ। क्यानोनिङको लागि स्वदेशीलाई १०० रुपैयाँ र विदेशीलाई ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
झरनामा पानीको फोहरा र यहाँको चिसो हावाले पर्यटकका लागि एक अविस्मरणीय अनुभव प्रदान गर्दछ। पर्यटनको क्षेत्रको विकासका लागि २०६७ सालदेखि काम भइरहेको यस क्षेत्रले चितवनका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकको रूपमा स्थान बनाएको छ।
यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित निकायले अझै थप लगानी र व्यवस्थापन गर्न सकेमा जलविरे झरना चितवनको पर्यटकीय हब बन्ने देखिन्छ। ।











