गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको छ : प्रदेश प्रमुख देवकोटा
हेटौंडा । स्थानीय स्रोत साधन र कच्चा पदार्थको प्रयोग, कृषि र उद्यमको परस्पर निर्भरता, स्वरोजगार तथा रोजगारी सिर्जनामार्फत् गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नेपालको लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धन र संरक्षणका लागि समर्पित राष्ट्रिय स्तरको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कैलाली जिल्लाको २३ ओँ बार्षिक साधारणसभा एवं ११ औं जिल्ला सम्मेलनमा बोल्नु हुँदै बुधबार उहाँले यस्ताे बताउनु भएकाे हाे ।
लघु, घरेलु तथा साना उद्योगहरू देशको अर्थतन्त्रको बलियो जग भएको उहाँले बताउनु भयाे । कृषि क्षेत्रले ग्रहण गर्न नसक्ने जनशक्ति साना उद्योगमा प्रयोग गर्न सकिने उहाँले बताउनु भयाे ।
जब औद्योगिक विकासको कुरा आउँछ, ठुला र मझौला उद्योगको प्रबर्द्धनमा जोड दिनुपर्ने उहाँले बताउनु भयाे । नेपाल जस्तो विकासोन्मुख देशमा ठुला उद्योगको दाँजोमा साना तथा घरेलु उद्योग नै प्रभावकारी रहेकाे उहाँले बताउनु भयाे । वैदेशिक रोजगारीमा गएका नेपाली विविध कारणले देश फिर्ता आउनुपर्ने समय अहिलेको विश्व परिस्थिति हेर्दा अनुमान गर्न सकिने उहाँले बताउनु भयाे ।
‘अग्ला हिमाल चढ्नुपूर्व साना /साना हिमाल आरोहण अनिवार्य भए जस्तै औद्योगिक छलाङ्ग मार्न साना तथा घरेलु उद्योग विकासमा जोड दिनुपर्दछ’ उहाँले भन्नुभयाे । साना तथा घरेलु उद्योग स्थापना र बिस्तारमा थुप्रै चुनौतिहरू बिद्यमान रहेकाे उहाँले बताउनु भयाे । पूंजी, कच्चापदार्थ, प्रविधि, दक्ष जनशक्ति, बजारीकरण र नीतिगत तहका समस्याहरूसङ्ग जुझ्नुपर्ने उनले बताए ।
‘स्टार्टअप र निरन्तरता अथवा टिकाउ दुबै पक्षमा विभिन्न अवरोधहरू आउँछन् तर सरकार वा कमजोर नीति नियम भन्दै दोष थुपारेर बस्नुहुदैन’ उहाँले भन्नुभयाे । व्यवसायिक यात्रा निकै चुनौतीपूर्ण हुने तर आत्तिन नहुने उहाँले सुझाव दिनुभयाे । उत्पादीत वस्तुमा सुपथ मूल्य र गुणस्तर कायम गर्न सक्नुपर्ने उहाँले बताउनु भयाे ।










