स्वरोजगार मजदुर बचाउन ‘स्टीकर प्रणाली’ सफल : संयोजक न्यौपाने

संवाददाता
२०८१ फाल्गुन ३०, शुक्रबार २०:२०

हेटौंडा । तीन पाङ्ग्रे सवारी सञ्चालन गरेर गुजारा गर्दै आएका स्वरोजगार मजदुरलाई बचाउन हेटौंडा उपमहानगरपालिकाले ल्याएको ‘स्टीकर प्रणाली’ सफल भएको तीन पाङ्ग्रे व्यवस्थापन समिति संयोजक सविन न्यौपानेले बताएका छन् ।
हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधनलाई व्यवस्थापन गर्न न्यौपानेको संयोजकत्वमा उपसमिति नै बनाएर विगत तीन वर्षदेखि निरन्तर कार्य गर्दै आएको छ । पहिलो चरणमा हरियो, दोश्रो चरणमा पहेंलो र तेस्रो चरणमा सेतो स्टीकर प्रदान गरेर नगरभित्र सञ्चालन अनुमति प्राप्त अटो तथा ई–रिक्सालाई चिन्ने गरी तथ्याड्ढ व्यवस्थापनमा नगर सफल भएको न्यौपानेले बताएका हुन् ।

स्वरोजगार यातायात मजदुर मकवानपुर प्रा।लिको चौथो वार्षिकोत्सव शुक्रबार हेटौंडामा उद्घाटन गर्दै संयोजक न्यौपानेले स्टीकर प्रणाली लागू भएको तीन वर्षमा यसले व्यवस्थित रुप धारण गरेको बताए । उनले यसबीचमा छुट्टै सेवा केन्द्र नै स्थापना गरेर हेटौंडा उपमहानगरपालिकाले तीन पाङ्ग्रे सवारी सञ्चालन गर्दै आएका एक हजार आठसय ६० जना मजदुरको चुल्हो बाल्ने व्यवस्थापन गरेको बताए ।

‘करिब दुई हजार मजदुरलाई व्यवस्थापन गर्न हामी सफल भएका छौं’, संयोजक न्यौपानेले यसलाई दीगो तरिकाले अगाडि बढाउन सबै मजदुर र कम्पनीहरुले सहयोग गर्नुपर्ने औंल्याए । संयोजक न्यौपानेले तीन पाङ्ग्रे सवारी चलाउने मजदुरहरु भनेको हेटौंडा उपमहानगरपालिकाको अनुहार भएको बताए । ‘तपाईहरुको गाडि चढ्न धेरै क्षेत्रका पर्यटकहरु आउने गरेका हुन्छन्, ती यात्रुहरुलाई तपाईहरुले गरेको व्यवहारले हाम्रो नगरको पहिचान झल्काउँछ’, संयोजक न्यौपानेले आ–आफ्नो गाडिमा सन्देशमूलक र पर्यटकीय क्षेत्रको प्रचारमूलक सामग्रीबाहेक अन्य जथाभावी नलेख्न पनि सुझाव दिए ।

‘तपाईंहरु अब हेटौंडा उपमहानगरपालिकाको अभिन्न अंगको रुपमा सूचिकृत भइसक्नु भएको छ, अब नयाँ नयाँ कार्यक्रममार्फत् तपाईंहरुलाई नगरपालिकाले सहयोग गर्दछ’, संयोजक न्यौपानेले गैरकानूनी सामग्री बोक्ने र आपराधिक कार्यमा संलग्न गराउन खोज्ने यात्रुहरुबाट सजग रहन पनि ध्यानाकर्षण गरे ।

प्रालिका अध्यक्ष राकेश कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा दुर्घटना नगरी, अनुशासित ढंगले तीन पाङ्ग्रे सञ्चालन गर्ने सुवास लामिछाने, देवबहादुर कार्की र बन्दना बानियाँलाई नगद र प्रशंसापत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामशरण घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*